सिन्धुपाल्चोक। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेमा रत्नराज्य माध्यमिक विद्यालयको भवन निर्माण भएको हो।
विद्यालय परिसरमा छ वटा अत्याधुनिक एवं सुविधायुक्त भवन निर्माण गरिएका छन्। विद्यालय प्रशासनका अनुसार भवन निर्माणमा एक अर्ब रुपियाँभन्दा बढी लगानी भएको छ।
विद्यालयमा जुगल गाउँपालिकाका ४२५ बालबालिका अध्ययनरत छन्। विगतमा कक्षा ८ देखि १२ सम्मका ६० प्रतिशत विद्यार्थीले भाडामा कोठा लिएर पढ्नुपर्ने बाध्यता थियो। विद्यालयमा सुविधायुक्त ८४ कोठे छात्रावास बनेपछि कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य भएका बताइएको छ।
कक्षाकोठा २४ र विद्यालय प्रशासनका लागि २२ कोठा छन्। विद्यालयमा पुस्तकालय, ५० वटा कम्प्युटरसहितको विज्ञान प्रयोगशालालगायतका सुविधा रहेको छ।