काठमाडौं। कोरोना महामारीको संकटबाट विश्व पर्यटन क्षेत्र विस्तारै बाहिर आउन थालेसँगै लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनले व्यवसाय विस्तारका लागि झन्डै एक अर्ब रुपैयाँ लगानी थप गर्ने भएको छ।
र्याडिसनले ८५ करोड रुपैयाँको लागतमा नयाँ भवन संरचनाको तयारी गरिरहेको हो। उक्त लगानी भवन निर्माणका लागि मात्र भएको होटल व्यवस्थापनले जानकारी दिएको छ। र्याडिसनले दुई रोपनी जमीनमा होटलको नयाँ भवन बनाउने कार्य अघि बढाएको छ। उक्त नयाँ होटल भवन दुई वर्षमा तयार हुने यसका प्रोजेक्ट डाइरेक्टर बद्री ढकालले बताएका छन्।
कोभिडका कारण होटल उद्योग नै सबैभन्दा नराम्री प्रभावित भएको अवस्थामा र्याडिसनले भने आफ्नो व्यवसायिक योजनाअन्तर्गत पूर्वाधार विस्तारको योजना अघि बढाएको हो। होटलले आफ्नो क्षमता विस्तारका लागि भवन संरचना थप गर्न सुरु गरेलगत्तै कोभिड संक्रमण फैलिएर काम रोकिएको थियो। संक्रमण घटेर निषेधाज्ञा खुकुलो भएपछि रोकिएको कामलाई होटलले पुनः अघि बढाएको छ। बेसमेन्टसहित १३ तलाको हुने निर्माणाधीन भवनमा अहिले आठौं तलाको ढलानको काम भइरहेको छ।
दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो भवनमा कुल ७५ वटा कोठा रहनेछन्। ढकालका अनुसार भवनमा सुविधायुक्त कोठासँगै ७५ जना अट्ने कन्फ्रेन्स हल र १०० जना अट्ने कफी सप पनि हुनेछन्। नयाँ भवन संचालन आएसँगै होटलको कोठा क्षमता तीन सय ४० वटा पुग्नेछ। हाल होटलमा जम्मा २६५ वटा कोठा रहेका छन्।
होटलले आफ्नो पुरानो भवनलाई पनि पुनर्निर्माण गर्दै लगेको जनाएको छ। सन् १९९८ देखि सन् २०१२ सम्म र्याडिसनमा १ सय ६० वटा रुम थिए। यसअघि होटलले सन् २०१२ मा पुनः सयवटा हाराहारी कोठा थपेको थियो।