म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घारखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना अन्तिम चरण पुगेको हो।
कुल रु. दुई अरब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् । म्याग्दी हाइड्रोपावर प्रा.ली प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान शुरु, बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको परिक्षण गर्ने तयारी भएको हो । चैत महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखिएको आयोजनाको संरचना निर्माणको काम करिब सकिएको छ ।
तीन हजार पाँच मिटर लामो सुरुङ पलास्टरको काम अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) बनाइएको छ ।
अमिलाकाफलमा रहेको आउटलेट देखि बिद्युतगृहसम्म ४८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेट देखि बिद्युतगृहको दुरि एक हजार २०० मिटर र उचाई ४८५ मिटर छ । पोखरेबगर स्थित गोजेखोल्सीमा पहाड काटेर विद्युतगृहको भवन निर्माण सकेर झ्याल ढोका राख्ने र रंगरोगन भैरहेको छ ।
पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्न थालिएको छ । वि.स. २०७४ चैत महिनादेखि शुरु भएको घारखोला वि.स. २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाई भएको हो ।