काठमाडौं। तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ सराङघाटमा ३३।११ केभी क्षमताको सवस्टेसन निर्माण भएको छ। सवस्टेशन निर्माण भएपछि विद्युत आपूर्तिमा सहज भएको हो।
जिल्लाको तीन पालिकाहरु आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिमा सहज भएको छ।
यसअघि आँबुखैरेनीबाट ११ केभीबाट विद्युत् लाइनबाट विद्युत् विस्तार गरिए पनि लामो लाइन भएका कारण पूर्ण क्षमताको विद्युत् प्रवाह नहुँदा समस्या भोग्नुपरेको बताइएको छ।
पहिला भन्दा अहिले विद्युत आपूर्तिमा सहज भएको स्थानीयको भनाइ छ। तीनवटै पालिकाका केही घरमा बाहेक सबै बस्तीमा विद्युत् पुग्ने बताइएको छ। देवघाट गाउँपालिका–४ मा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् विस्तारको कार्य तीव्रगतिमा गरिएका कारण उज्यालो तनहुँ यसैवर्ष घोषणा गर्न सकिने गाउँपालिकाकाले बताएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सवस्टेसन निर्माण गरेको हो ।
ग्रामीण विद्युतीकरणअन्र्तगतका चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलित ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो ।