बुटवल। लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशको मुख्य प्रशासनिक भवनसहित नौ वटा मन्त्रालयका नयाँ भवन निर्माण गर्न सुरु गरिएको छ।
प्रदेशमा नदी सभ्यतामा आधारित व्यवस्थित संरचना निर्माणको गुरुयोजना अनुरुप नयाँ आधुनिक संरचनाको निर्माण कार्य सुरु गरिएको हो।
प्रदेशको स्थापना दिवसका अवसर पारेर बुधबार मुख्यमन्त्री लिला गिरीले निर्माण गरिने संरचनाको एकैपटक शिलान्यास गरेका छन्। मण्डला आकारमा मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयका आधुनिक भवनहरुको एक साथ निर्माण हुनेछ।
प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण हुने सम्पूर्ण संरचनाहरुको काम आगामी २०८२ साल पुस सम्ममा सम्पन्न हुने बताइएको छ।
तीन अर्ब ९ करोड २९ लाखको लागतमा सुविधा सम्पन्न मन्त्रालय भवन निर्माण हुन् लागेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन बेसमेन्टसहित ६ तलाको बन्ने भने अन्य मन्त्रालय भवन ५ तलाको हुनेछ।
मन्त्रालय निर्माणको जिम्मेवारी शर्मारसगुन जेभी, सीतापाइला काठमाडौंले लिएको छ। निर्माण कम्पनीका प्रतिनिधि शौरभ शर्माले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यी सबै भवनहरु लिफ्टसहितका अपांगमैत्री रहनेछन्।
१७ बिघा १९ कट्ठा ४ धुर जग्गामा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ।