काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै बागलुङमा दुईवटा पक्की पुलको काम ठेक्का लिएर अलपत्र छाड्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।
सडक डिभिजन कार्यालय बागलुङकै सिफारिसमा संघीय सडक तथा सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सबै प्रक्रिया पुर्याएर वाईपी कन्स्ट्रक्सन र रफिना निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।
यी निर्माण कम्पनीसँगको ठेक्का सम्झौता समेत तोडिएको छ भने यी कम्पनीहरुले अब १ वर्षदेखि ३ वर्षसम्म अन्य सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
ढोरपाटन–५ को भुजीखोला पुल र गलकोट–८ र ९ जोड्ने दरमखोला पुलको काम सात वर्षअघि शुरु भएको थियो। ३ करोड ३४ लाख लागतको पुलको हालसम्म पश्चिमतर्फको एक पिलर मात्र उठाइएको छ। बाँकी काम अलपत्र छ। पटक–पटक म्याद थप्दा पनि निर्माण कार्य पूरा नगरेपछि ठेक्का रद्द गरी कालोसूचीमा राखेको जनाइएको छ।