नेपालगञ्ज। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजनाबारे सूचना संकलन गरिरहेको र केही समयमै पूरा गर्ने गरी अघि बढेको बताए।
राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि शुक्रबार बाँके पुगेका मन्त्री श्रेष्ठले अलपत्र र अधुरा योजनाहरु वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताएका हुन्।
उनले मरिहत्ते गरेर ठेक्का लिने तर काम नगरेर बीचमै योजनालाई अलपत्र पार्ने छुट अब कसैलाई पनि दिन नसकिने बताए । उनले भने, “अधुरा छोडिएका र बीचमै अलपत्र पारिएका सबै ठूला–साना योजनाबारे सरकारले सूचना सङ्कलन गरिरहेको छ, अधुरा रहेका सबै योजना केही समयमै पूरा गराउने गरी अगाडि बढ्दै छौँ।”
सरकारले कुनै पनि प्रकारका अनियमितता र जनतालाई समस्या पर्ने एवं ढिलासुस्तीलाई सहन नगर्ने प्रस्ट पार्दै उपप्रधानमन्त्री श्रेष्ठले यो सरकारले जनताका लागि सधै स्मरणीय काम गरेर जाने बताए। माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकारलाई सबै दलको समर्थन रहेको हुँदा राष्ट्रिय सहमतिको सरकार भएकोले सोही प्रकारले सरकारले आफ्ना कामकारबाहीलाई अगाडि बढाइरहेको उनको भनाइ छ।
खजुराको सडकलगायत हुलाकी राजमार्ग र अन्य विभिन्न योजनाको निर्माण कार्यलाई तत्काल तीव्र पारिने जनाउँदै श्रेष्ठले विकासका काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताए।