काठमाडौं। ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिकाले पन्ध्र शय्याको अस्पताल सञ्चालनको तयारी सुरु गरेको छ। गाउँपालिकाका अनुसार पाल्हीनन्दन–४ स्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्न लागिएको हो।
जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रमा अवस्थित यस गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल नभएका कारण यहाँका बिरामी सदरमुकाम परासी, बुटवल, भैरहवा तथा भारतीय अस्पतालमा जानुपर्ने बाध्यता छ। अस्पतालको लागि भौतिक पूर्वाधार तयार भइसकेको छ भने यन्त्र उपकरण र जनशक्तिको व्यवस्थापन भइरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले जानकारी दिए।
लगभग साँढे छ करोडको लागतमा अस्पताल भवन निर्माण भएको छ, जनशक्ति र उपकरण व्यवस्थापन गरी अव पाल्हीनन्दन अस्पतालको रुपमा सञ्चालनमा ल्याउँने उनले बताए। पन्ध्र श्यया अस्पतालको लागि गाउँपालिकास्तरबाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा भएको र सङ्घीय सरकारबाट अनुमति पाएपछि अस्पताल सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिए।