काठमाडौं। हनुमान हाइड्रो पावर कम्पनीले छिलुङ्ग खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखाको चुमनुब्री गाउँपालिका–३ मा रहेको छिलुङ्ग खोलामा करिब ७ अर्ब रुपैयाँ लगानीमा ४३.२ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको हो।
प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन पूरा गरी वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत तयार पारेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पेस गरेको कम्पनीले जनाएको छ ।
आयोजनाको बाँध सिर्दिबास गाउँ र विद्युतगृह चिलुन गाउँ र चुमचेट गाउँ नजिकै रहनेगरी डिजाइन तयार पारिएको छ। आयोजनामा ८८४५ मिटर हेडरेस पाइप र १९३८ मिटर पेनस्टक पाइप रहनेछ। विद्युतगृह भुमिगत हुनेछ।
आयोजना निर्माण सम्पन्न गर्न ७ अर्ब १२ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनाको वार्षिक ऊर्जा उत्पादन २५८.५१ गिगावाट उत्पादन हुनेछ । वर्षायाममा १७८.६९ गिगावाट आवर र सुक्खायाममा ७९.८३ गिगावाट आवर उत्पादन हुनेछ ।