काठमाडौं। संखुवासभामा निर्माणाधीन जलविद्युत आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको छ। निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजना र कोशी करिडोरलगायत विभिन्न आयोजनाका लागि १४ हजारभन्दा बढी रुख काटिएको हो।
९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजना र २२० मेगावाटको कोशी करिडोर प्रशारण लाइन निर्माणका लागि रूख काटिएका हुन्। अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रशारण लाइनका लागि संखुवासभाका १८ वटा सामुदायिक वनका १४ हजार ६ सय २७ रुख कटान गरिएको डिभिजन वन कार्यालय संखुवासभाले जनाएको छ।
११ वटा जलविद्युत आयोजनाले जिल्लाका ६ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन्। विद्युत विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका मात्रै ५ हजार ४ सय रूख काटिएका डिभिजन वन कार्यालयले जनाएको छ। विद्युत आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका १४ हजारभन्दा बढी रूख काट्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।
अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्याम साइड र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा १२३ दशमलव २२ हेक्टरका रूख काटिसकिएको निर्माण कम्पनी सतलजले जनाएको छ। अरुण तेस्रो आयोजनास्थल ड्याम साइट र विद्युतगृह लगिने ३३ केभी प्रशारण लाइनका लागि थप ९ सय ९४ वटा रुख काटिएको छ।