गोरखा। भूकम्पले भत्काएको बारपाक सुलिकोट गाउँपालिका–७ बालुवाको मण्डली आधारभूत विद्यालयले ८ वर्षपछि सुविधासम्पन्न भवन पाएको छ ।
चाइल्डफन जापानको आर्थिक सहयोगमा एकीकरण नेपालले ४ करोड ३७ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । नौकोठे भवनमा पुस्तकालय, आईसीटी, शौचालय, खानेपानीलगायत सुविधा छ ।
२०७२ वैशाख १२ को भूकम्पले नौकोठे विद्यालयको पुरानो भवनमा पूर्ण क्षति पुर्याएसँगै ट्रस्ट भवनबाट पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक तोयानाथ धितालले बताए । जग्गा व्यवस्थापनको ढिलाइले केही वर्ष अलमल भए पनि अहिले सुविधा सम्पन्न विद्यालय भवन बनेसँगै पठनरपाठनमा सहज बनेको उनले बताए ।
‘केही जग्गा खरिद गर्यौं, अहिले विद्यालयको २७ आना जग्गा छ,’ उनले भने । उक्त विद्यालयमा बालुवा, डुम्रे, ढोडेनीका ६४ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
विद्यालय भवन उद्घाटनमा गण्डकी प्रदेशसभा सदस्य एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बसाइँसराइ रोक्न उत्पादनलाई जोड दिनुपर्ने बताए । कान्तिपुरबाट