काठमाडौं। अबदेखि काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा यस्तो नियम लागू गरेको जानकारी दिएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकिएको उक्त सूचनामा उल्लेख छ ।
उपत्यकाभित्र चक्रपथ सँगै सर्भिस ट्रायकका लागिसमेत गति सीमा तोकिएबमोजिम कलङ्की–कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी कोटेश्वर–भक्तपुर सडकखण्डमा समेत प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ । तोकिएको मापदण्डभन्दा बढी गतिमा सवारी साधन चलाउने चालकलाई ऐनमा उल्लेखभए बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ।