काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक २०७८ माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले उपत्यका विकास प्राधिकरणको औचित्य नभएको भन्दै खारेजीको माग गरेका हुन्।
संसदमा सांसद श्रेष्ठले भने, ‘प्राधिकरणको औचित्य के हो ? म खारेजीको माग गर्दछु । यो संस्थाले राज्यलाई भार मात्रै भएको छ । यसको नाम उपत्यका विकास होइन, विनाश प्राधिकरण हुनुपर्ने हो।’
उनले प्राधिकरण भ्रष्ट्राचारको जरो भएको भन्दै काम पनि गर्न नसक्ने कारबाही पनि गर्न नसक्ने अवस्थामा रहेको बताए ।
उनले सबैभन्दा धेरै भ्रष्ट्राचार स्थानीय तहमा हुने भएको तथ्यांक आएको भन्दै अनुगमन र मूल्यांकन पनि स्थानीय सरकारमा बलियो हुनुपर्ने समेत बताए ।