काठमाडौं। स्याङ्जाको गल्याङ नगरपालिकामा ३०० जना क्षमताको सिटी हल निर्माण गरिएको छ। गल्याङ नगरपालिका–३ को गल्याङ बजार नजिकै तीन करोड भन्दा माथीको लागतमा सिटी हल निर्माण सम्पन्न भएको हो।
शहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख इञ्जिनीयर झपटबहादुर थापाले विहिवार गल्याङ नगरप्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गरेका हुन्। “गल्याङ नगरपालिका पछिल्लो समयमा घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्”, प्रमुख अधिकारीले भन्नुभयो, “अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिइरहेका छौँ।”
यस ठाउँमा धेरै जना अट्ने क्षमता भएको भवन नभएकाले कार्यक्रम, सभासमारोह, तालीम, गोष्ठीलगायत अन्य कार्य ठूलो सङ्ख्यामा गर्नका लागि भवनको अभाव भएकाले नगरपालिकाको पहलमा निर्माण सम्पन्न गरिएको नगरप्रमुख अधिकारीले बताए। विभिन्न समुदायका समाज घर भए पनि त्यहाँ यतिको ठूलो क्षमताका नभएकाले बाहिरी खुल्ला ठाउँमा कार्यक्रम गर्नुपर्ने समस्याको अन्त्य भएको छ।
चर्को घामपानीका कारण कार्यक्रम गर्दा गर्दै स्थगित गर्नुपर्ने अवस्था अब रहने छैन। निर्माण व्यवसायी एवं रवीना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सिटी हल निर्माण गरी हस्तान्तरण गरिएको बताए। जसले गर्दा स्थानीयमा पनि सहज वातावरण सिर्जना हुने विश्वास गरिएको छ।