काठमाडाैं। काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्ण प्रसाद गौतम विजयी भएका छन्। संघको आगामी तीन वर्षे कार्यकालका लागि आइतबार बिहानदेखि भएको निर्वाचनमा गौतम विजयी भएका हुन्।
गौतमले ६१० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शान्त कुमार श्रेष्ठले ४८१ मत प्राप्त गरेका छन्। त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कविन्द्र महर्जन विजयी भएका छन्। उनी आफ्ना प्रतिस्पर्धी कमला भट्टराई भन्दा ७ मत मात्र बढी ल्याएर विजय भएका हुन्। वरिष्ठ उपाध्यक्षका विजेता महर्जन शान्त कुमार श्रेष्ठको प्यानलबाट उमेद्वार थिए।
त्यसैगरी प्रथम उपाध्यक्षमा पनि श्रेष्ठ प्यानलका उमेदवार बासु खड्का विजयी भएका छन्। उनले कृष्ण प्रसाद प्यानलका लक्ष्मण थपलियालाई ६५ मतान्तरले हराएका हुन्।
संघको द्धितिय उपाध्यक्षमा तिलक बहादुर लामा विजयी भएका छन्। श्रेष्ठ प्यानलका टिकाराम सुवेदीले ४९१ मत ल्याउँदा लामाले ५७० मत ल्याएर विजय हासिल गरेका हुन्।
त्यसैगरी महासचिव पदमा गौतम प्यानलका पञ्च बहादुर तामाङ विजयी भएका छन् भने उप महासचिव (नितिगत) मा श्रेष्ठ प्यानलका कृष्ण केसी विजयी भएका छन्। उप महासचिव ( आन्तरिक) मा गौतम प्यानलका राजन गौतम विजयी भएका छन् भने कोषाध्यक्षमा गौतम प्यानलकै मनोज श्रेष्ठ विजयी भएका छन्। सहकोषाध्यक्षमा भने श्रेष्ठ प्यानलका संजिव शाक्य विजयी भएका छन्।
आइतबार बिहान ११ बजेदेखि सुरु भएको मतदानमा संघमा रहेका १ हजार ६ सय १६ मतदातामध्ये १ हजार १ सय २४ मत खसेको थियो। निर्वाचनमा नेतृत्वका लागि वर्तमान महासचिव शान्त कुमार श्रेष्ठ (सन्तु) र कृष्णप्रसाद गौतमको छुट्टाछुट्टै दुई समूह चुनावी प्रतिस्पर्धामा थिए। मतपरिणाम अनुसार कुनै पनि समूह प्यानलनै विजयी हुन सकेन। अध्यक्षमा गौतम विजयी भएका छन् भने अन्य पदहरुमा केहीमा गौतम प्यानलका र केहीमा श्रेष्ठ प्यानलका उमेदवारले विजयी हासिल गरेका छन्।