म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ। भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्या हुँदा निर्माण कार्य एक वर्षदेखि ठप्प छ।
हाल भवन निर्माणको कार्य एक चौथाइ मात्र पूरा भएको छ जबकी यतिबेला सम्म कार्य सम्पन्न हुनुपर्ने थियो। निर्माण व्यवसायीले पनि उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवनको काम रोकिएको स्थानीय बताउँछन्।
२०७९ असार १५ गतेभित्र भवन निर्माणको काम पूरा गर्नेगरी भवन विसं २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले ४ करोड ७९ लाखमा ठेक्का सम्झौता गरेको थियो । समय सकिएको यतिका समय बितिसक्दा पनि निर्माण कार्य भने एक चौथाइ मात्र भएको हो।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माण कम्पनीका प्रतिनिधिलाई रोकिएको भवन निर्माण अघि बढाउन ताकेता गरिरहेको बताएका छन्।