काठमाडौं। बुद्धको जन्मस्थल लुम्बिनीमा सय शय्याको आधुनिक अस्पताल बनाउने प्रक्रिया सुरु भएको छ। लुम्बिनी क्षेत्रका महिलाको स्त्री तथा प्रजनन स्वास्थ्य उपचारलाई लक्षित गरी अस्पताल निर्माण प्रक्रिया थालिएको हो। प्राथामिकतामा स्त्री तथा प्रजनन् स्वास्थ्य उपचार भए पनि अस्पतालले अन्य सेवासमेत संचालन गर्ने छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको पहलमा लुम्बिनी गार्डेन फाउन्डेसनले अस्पताल निर्माण गरिदिने छ। लुम्बिनी गार्डेन फाउन्डेसन र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच बिहीबार निर्माण सम्झौता भएको छ। जसमा नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिनु पर्ने र फाउन्डेसनले निर्माणको व्यवस्थापन गर्ने उल्लेख गरीएको छ।
सम्झौतामा हस्ताक्षर गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले एक महिनाभित्र नगरपालिकाको १० नम्बर वडामा जग्गा व्यस्थापन गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।