काठमाडौं। सामाजीक कार्यमा सक्रिय हिमालयन फाउन्डेसन कर्प न्युओर्क एण्ड क्यालिफोर्नियाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बुका बाढीपीडितका लागि १० वटा घर निर्माण गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा बुधबार हेलम्बु गाउँपालिका कार्यालयमा हेलम्बु गाउँपालीका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउण्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठबीच घर निर्माण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा मेलम्ची नगरपालीका वडा नं–७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ,तामाङ को–अपरेसन सोसाइटी अफ क्यालिफोर्नीयाका अध्यक्ष शेरबहादुर लामा,प्रोफेसर प्रकाश खड्गी, चलचित्र पत्रकार संघका पूर्वउपाध्यक्ष लक्ष्मण सुवेदीलगायतका ब्यक्तित्वहरुको उपस्थितिरहेको थियो।
अमेरिकामा बसे पनि आफ्नो गाउँघर सम्झीएर बाढी पीडितलाई सहयोग गरेकोमा खुशी लागेको बताउदै जो जहाँ रहे पनि एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नु निकै राम्रो कुरा भएको र आफु पनि बाढी पीडितका लागि आफूले सके जति पहल गर्ने कुरा कार्यक्रममा उपमेयर खड्गीले बताएकी छिन्। मेलम्ची खानेपानी योजनाको मुहान हेलम्बुमा रहेको र त्यहीबाट नै काठमाडौंमा पानी आउने भएकाले त्यहाँका पीडितलाई सबैले साथ दिनुपर्ने उनको भनाई थियो। सोही क्रममा उनले आफूले केही ब्यक्ति तथा संस्थालाई पीडितको बसोबासका लागि घर बनाउन आग्रह गरेबमोजीम त्यहाँ हाल २५ वटा घर बनिरहेको जानकारी पनि दिइन्।
हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले गाउँपालिकासँगको सहकार्यमा हिमालयन फाउन्डेसन कर्पले बाढीपीडितका लागि घर बनाउने जमर्को गरेकोमा खुशी ब्यक्त गरेका छन्। जति सक्दो छिटो पीडितलाई राहत स्वरुप बसोबासको ब्यबस्था गर्नुपर्ने र त्यसका लागि आफु एकदम सक्रिय रुपमा लागीरहेको पनि उनले बताएका छन्। गत असार र साउनमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँ पालीकाका थुप्रै वडामा ठूलो जनधनको क्षति भएको थियो। मेलम्ची र इन्द्रावती नदीको बाढीले त्यहाँका सयौं घर बगाएर उजाड बगर बनाएको छ। लेदोसहित आएको बाढीले त्यहाँ करोडौको क्षति पुर्याएको थियो।
आफू सोही ठाउँमा जन्मे हुर्किएकाले सिन्धुपाल्चोकमा केही घटना हुदा निकै मन पोल्ने गरेको हिमालयन फाउन्डेसनका संस्थापकले बताएका छन्। यो भन्दा अगाडी अरु ठाउँमा सहयोग गर्दै आएको रयोपालि भने हेलम्बुका बाढीपीडितको सहयोगार्थ अहिलेलाई १० वटा घर बनाउन लागेका साथैयो कृया पछि अझ बढ्न सक्ने उनले बताएका छन्। त्यस्तै उनले उजाडिएको बस्तीलाई ब्यबस्थीत गर्न सबैले सहयोग गर्नु पर्ने धारणा राख्दै हेलम्बुमा घर निर्मााणको प्रकृया केही दिनभित्रै सुरु हुने समेत जानकारी दिएका छन्।