जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका१ मा अवस्थित ठिन्के र माझकुलो सेनाले बनाउन सुरु गरेको छ। गत असोजमा परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको सिँचाइ कुलो नेपाली सेनाले बनाउन सुरु गरेको हो।
उक्त कुलो मार्फत चन्दननाथ १ देखि ५ वडासम्मका सयौं किसानको खेत सिँचाइ गर्दै आएका थिए । मंगलबार बिहानदेखि नन्दाबक्स गणका गणपति रविन थापाको नेतृत्वमा सेनाको टोली बाढीले बगाएको कुलो बनाउन लागेको हो।
बेलाबेला कुलो निर्माण गर्न अपिल गरे पनि सुनुवाइ नगरेपछि स्थानीय किसानले नेपाली सेनालाई कुलो बनाइदिन अनुरोध गरेका हुन्। स्थानीयले विभिन्न निकायलाई कुलो निर्माण गनृको लागि समय समयमा अनुरोध गरेका थिए। तर बजेट अभाव भएको भन्दै सबै निकाय पन्छिन थालेपछि उनीहरूले सेनालाई कुलो बनाइदिन आग्रह गरेका थिए।
बाढीले बगाएको कुलो बनाउन १ सय ५० सैनिक टोली खटिएको नेपाली सेनाले जनाएको छ। तीन दिनमा किसानको खेतमा पानी पुग्ने गरी कुलो निर्माण भइरहेको छ। रोपाइँ नजिकिँदै गर्दा किसानलाई कुनै मर्का नहोस् भनेर सिङ्गो सेनाको टोली कुलो बनाउन खटिएको हो ।