चितवन। नारायणी नदी किनारमा निर्माण हुन लागेको नदी संरक्षण पूर्वाधार र निर्माणाधीन आरती स्थलको शिलान्यास गरिएको छ। बुधबार बिहान भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले संरक्षण पूर्वाधार र आरती स्थलको शिलान्यास गरेकी हुन्।
प्रमुख दाहालले शिलान्यासका क्रममा बोल्दै नारायणी नदी भरतपुर महानगरपालिकाको मात्र नभएर देशकै एउटा गहना भएको बताएकी छन्।
नारायणी नदी व्यवस्थापन आयोजना र सघन शहरी तथा भवन आयोजनाले संयुक्त रुपमा नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रममा उनले महानगर क्षेत्रमा एकपछि अर्को परियोजनाको लागि बजेट सुनिश्चित हुँदै आएको बताइन्।
पहिलो चरणमा ६५ किलोमिटर सडक, देवघाटको शवदाह गृह, केन्द्रीय बस टर्मिनलको व्यवस्थापनलगायत २ अर्बको परियोजना सञ्चालन भइरहँदा दोस्रो चरणमा झण्डै ५० करोड रुपैयाँ बराबरको १८ किलोमिटर सडकसहित सम्भावना बोकेको नदी किनारमा ‘रिभर विच प्रोटेक्सन’समेतको काम अगाडि बढेको उनले जानकारी दिइन्।
नदी किनारको संरचना निर्माणको कामलाई प्राथमिकतामा राख्दै असार मसान्त अगाबै काम सक्न उनले निर्माण कम्पनीलाई अनुरोध समेत गरेकी छन्।
शिलान्यास कार्यक्रममा नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख गणेश मरासिनी र सघन शहरी तथा भवन आयोजनाका डिभिजनल प्रमुख प्रकाश अर्यालले आयोजनाको बारेमा जानकारी गराए।
भरतपुर १ वडा कार्यालयदेखि नारायणी नदी पुलसम्मको ६५० मिटर नदी किनारमा निर्माण शुरु गरिएको कामको पनि महानगर प्रमुखले निरीक्षण गरेकी छन्।