काठमाडौं। सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु १० लाख सहयोग गरेको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको हो।
आयोजनाको प्रवद्र्धक सुपर घलेम्दी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक इञ्जीनियर मनप्रसाद कँडेल र शेयरधनी अभिषेक केसीले क्लबका अध्यक्ष टङ्क पुनलाई सो रकम हस्तान्तरण गरेका हुन्। वडाध्यक्ष चन्द्रप्रसाद फगामीसहित जनप्रतिनिधि, क्लबका प्रतिनिधि र पदाधिकारीको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो। प्राप्त रकमले बेँसीगाउँमा रहेको क्लबको भवनमा तला थप गरिने अध्यक्ष पुनले जानकारी दिएका छन्।
त्यस्तै नौ दशमलव १४ मेगावाट क्षमताको उक्त आयोजना प्रभावित क्षेत्रमा सामाजिक कार्यअन्तर्गत सहयोग गरिएको प्रबन्ध निर्देशक कँडेलले जानकारी गराए। तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भएको यस आयोजनाको बाँध घलेम्दी खोलाको मुहानमा प्रस्ताव गरिएको छ। घलेम्दी खोला जलविद्युत् आयोजनाको बाँधभन्दा २०० मिटरमाथि विद्युत्गृह रहने सुपर घलेम्दीको सुरुङ २/५ किलोमिटर तथा पेनस्टक पाइप एक किमीको हुने छ। मुलुकका विभिन्न क्षेत्रमा कार्यरत इञ्जीनियरको अगुवाइमा सो आयोजना निर्माण हुन लागेको हो।
दश प्रतिशत साधारण शेयर, १० प्रतिशत प्रभावित शेयर तथा १० प्रतिशत संस्थापक शेयर रहने सो आयोजना रन अफ द रिभर प्रकृतिको हो। आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर टाढा दाना सबस्टेशनमा पुर्याएर कालीगण्डकी करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ। नारच्याङमा हाल पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना सञ्चालन भइसकेका छन्।