गलकोट। बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन गर्न सुरु गरिएको छ।
बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताको पहलमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको हो।
केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पार्नका लागि प्रारम्भिक अध्ययन थालिएको छ। कालिका मन्दिर आउने भकुण्डेसम्म लैजाने र नजिकै रहेको भैरवस्थान मन्दिरको समेत दर्शन गराउने उद्देश्यले केबलकारको अवधारण ल्याइएको बागलुङ पर्यटन विकास समितिले जनाएको छ।
लामो पुल हेर्ने, कालिका मन्दिर दर्शन गर्ने र बागलुङ बजार घुम्न आएका पर्यटकलाई भकुण्डे पुर्याउने र भकुण्डेलाई एउटा सांस्कृतिक गाउँका रुपमा विकास गर्न सके केबलकार चल्न सक्ने समितिको भनाइ छ ।
कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालनका लागि प्राविधिक हिसाबले सफल देखिएको समेत बताइएको छ। अध्ययनले केबलकार निर्माणका लागि झण्डै १ अर्ब ५८ करोड रूपैयाँ लाग्ने देखाएको छ।
केबलकारको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउनका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।
बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन ।