सुर्खेत। कर्णालीमा लगानी भित्र्याउन पूर्वाधार विकास गर्नुपर्ने उद्योगी व्यवसायीले बताएका छन्। सुर्खेतमा बिहीबार भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको छैटौँ सभामा सहभागी उद्योगी व्यवसायीले पूर्वाधार विकास नभएका कारण कर्णाली प्रदेशमा लगानी भित्र्याउन कठिन भएको बताएका हुन्।
कर्णालीमा विशेष गरी पर्यटन, जलविद्युत्, कृषि र जडीबुटीमा लगानी गर्न सकिने उद्यमीको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं सार्क चेम्बरका उपाध्यक्ष चण्डिराज ढकालले कर्णाली विकासमा पछि पर्नुमा लगानीका लागि आवश्यक पर्ने नीति नियम र पूर्वाधारको विकास नहुनु रहेको धारणा राखे । उनले पहिले सरकारले पूर्वाधारको विकास गरिदिए उद्योगीले लगानी गर्न सक्ने भन्दै त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई पूर्वाधारको विकास गरिदिन आग्रह गरे । उनले कर्णालीमा विशेषगरी पर्यटन, जडीबुटी, कृषि र जलविद्युत्मा प्रशस्त लगानी भित्रिन सक्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले कर्णालीलाई भूगोलभन्दा पनि राज्य सञ्चालकका कारण ठगेको आरोप लगाए । कर्णालीको सम्भावनालाई लगानीमैत्री वातावरण निर्माण गर्न सके विकास गर्न सकिने उनले बताए। उनले अहिलेको जस्तो जटिल समस्या व्यवसायीले कहिल्यै भोग्नु नपरेको बताए। महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाँले कर्णालीमा लगानी भित्र्याउने हो भने पूर्वाधार तयार गरिदिनुपर्ने माग गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा लगानी भित्र्याउने उद्योगी व्यवसायीको प्रयास पूर्वाधार विकास नहुँदा सफल नभएको बताए । उनले विशेष गरी प्रदेश र सङ्घीय सरकारले विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिदिनुपर्ने सुझाव दिए।