काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीका आयोजना निर्माण समयमै सक्न निर्देशन दिएका छन्। शुक्रबार लगानी बोर्डको कार्यालयमा लगानी बोर्डबाट सहजीकरण गरिएका आयोजनाहरुको निर्माण तोकिएको समयभित्रै सक्न आयोजना विकासकर्ताहरुलाई निर्देशन दिएका हुन्।
विभिन ११ वटा परियोजनाका विकासकर्ताहरुलाई प्रधानमन्त्री प्रचण्डले परियोजना निर्माण कार्य निरन्तर अघि बढाउन आग्रह गरेका छन्। सरकारकोतर्फबाट परियोजनाहरुलाई सबै खाले सहयोग र सहजीकरण हुने पनि उनले आश्वस्त पारे।
प्रधानमन्त्री प्रचण्डले भने, ‘परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुनेछ्। सरकारकोतर्फबाट हुन सक्ने सबै सहयोगका लागि हामी तयार छौं।’
कार्यक्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत, होंग्सी तथा हुवासिन सिमेन्ट नारायणी, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्याङ्दी–२ अर्धजलासययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त परियोजना लगायतका विकासकर्ताहरुले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराए।