काठमाडौं । जिरी सडकखण्डअन्तर्गत दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट खण्ड वर्षौँदेखि अलपत्र पारेको भन्दै स्थानीयले विरोध गरेका छन् । दोलखाका स्थानीय अगुवा तथा यात्रुहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव र सडक विभागका महानिर्देशकको तस्बिर सार्वजनिक सवारीमा टाँसेर विरोध जनाएका हुन् ।
सडक विस्तारका लागि दबाब दिन सार्वजनिक यातायातमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुन जंग थापाको फोटोसहितको ब्यानर दोलखा–काठमाडौं आउजाउ गर्ने सार्वजनिक यातायातमा टाँस्ने अभियान सुरु गरेको संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले बताए ।
ब्यानरमा ‘सरकार...मुडे चरिकोट सडक कहिले बनाउँछस् ? हाम्रो बिचल्ली कहिलेसम्म टुलुटुलु हेर्छस् ?’ लगायतका प्रश्न सोधिएका छन् ।
एक्जिम बैंक अफ इन्डियाको सहयोगमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सडक विभागले उक्त सडक २०७२ मा ठेक्का लगाएको थियो । तर, करिब ६ वर्ष बित्दासमेत सडक अलपत्र अवस्थामा छ ।