म्याग्दी। म्याग्दीमा यातायात कम्पनीले आर्थिक रुपमा विपन्न परिवारलाई निःशुल्क यातायातको व्यवस्था गर्ने भएको छ । म्याग्दीको बेनीमा रहेको ओमकुमारी शान्ति कोषको आग्रहमा म्याग्दी कोरला यातायात प्रालिले निःशुल्क यातायातको सेवा दिने भएको हो ।
ओमकुमारी शान्ति कोष र म्याग्दी कोरला यातायातले लिखित रुपमा सम्झौता गरेरै कोषको सिफारिसमा निःशुल्क यातायातको व्यवस्था मिलाउन लागेको छ।
म्याग्दी कोरला यातायातले पोखरा र काठमाडौंसम्म जानुपर्ने विपन्न अवस्थाका बिरामीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने सहमती भएको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताए।
ओमकुमारी शान्ति कोषका अध्यक्ष हरिकृष्ण शर्मा गौतम र यातायातका केसीले दुई संस्थाबीचको सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतामा हस्ताक्षर भएपछि कोषले सिफारिस गरेका विरामीलाई निःशुल्क सेवा दिने प्रतिवद्धता जनाइएको छ ।