सल्यान। सल्यानको त्रिवेणी गाउँपालिका–१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा निर्माण व्यवसायीले ताला लगाएका छन्। विद्यालय भवन निर्माण गरेको रकम भुक्तान नभएको भन्दै निर्माण व्यवसायीले विद्यालयको दुई वटा भवनमा ताला लगाएका हुन्।
८ कोठे र ४ कोठे दुई भवनमा ताला लागेपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो। विद्यालयमा तालाबन्दी हुँदा कक्षा ४, ५, ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको विद्यालयले जनाएको छ।
अहिले विद्यालयले दुइवटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइरहेको छ। यहाँ एसइईको परीक्षा केन्द्र पनि निर्धारण भएको छ।
विद्यालय भवन निर्माण कम्पनीविरुद्ध अख्तियारमा मुद्दा परेकाले विद्यालयको खातामा आएको रकम निकासा गर्न समस्या भएको विद्यालय प्रशासनले जनाएको छ।
यता त्रिवेणी गाउँपालिकाले भने विद्यालयको खातामा रकम हालिसकेकाले निर्माण व्यवसायीलाई रकम दिने नदिने विद्यालयको हातमा रहेको जनाएको छ।