काठमाडौं। राज्यले व्यवसायीहरुलाई भुक्तानी नदिँदा निर्माण उद्योग समस्यामा परेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराइएको छ। नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बुधबार राष्ट्रपति पौडेलसँगको भेटमा निर्माण उद्योगको समस्याबारे ध्यानाकर्षण गराएको हो।
भेटका क्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय राज्यले व्यवसायीहरूलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन्। उनले व्यवसायीमैत्री ऐन कानूनको अभावमा विगतमा व्यवसायीहरूले धेरै झमेला सामना गर्नु परेको समेत बताए। सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी गराए।
यसै क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनु भएको छ । राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताउँदै राष्ट्रपति पौडेलले त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे । नेपालका निर्माण व्यवसायीहरूको समस्याहरूबारे आफू जानकार रहेको स्पष्ट पार्दै राष्ट्रपति पौडेलले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीहरूलाई सुझाव दिए ।