बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्रका सबै योजनाहरुको काम वर्षाअघि सक्न निर्देशन दिएका छन्। बुटवलभित्रका मुख्य योजनाहरुको अनुगमन गर्दै प्रमुख पाण्डेयले वर्षाअघि नै सबै योजनाको काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।
चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने संघ, प्रदेश र बुटवल उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन योजनाको शुक्रबार प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसहित बुटवल उपमहानगरपालिका टोलीले अनुगमन गरे।
बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको सडक क्षेत्र, योगीकुटीदेखि कालिकापथ क्षेत्र, योगीकुटीदेखि रानीगञ्जसम्मका सडक, अभियानपथको पर्खाल र निर्माणाधीन योजनाको अनुगमन गर्दै प्रमुख पाण्डेयले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराए ।
उनले निर्माण सुरु गरेर निर्माण गर्नुपर्ने अवधिभित्र पूरा गर्नेलाई पुरस्कृत गर्ने र समयमा निर्माण पूरा नगर्ने कम्पनीलाई दण्डित गर्ने समेत चेतावनी दिए। नगरप्रमुख पाण्डेयले बुटवलभित्र निर्माण हुने संरचनाको काम समयमै सम्पन्न गर्न संघ र प्रदेशलाई समेत ताकेता गर्न आग्रह गरे ।
समयमा पूरा हुनसक्ने गरी बजेट विनियोजन भएका योजनाहरु समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने बताए । यसैबीच बुटवल उपमहानगरपालिकाको टोलीले तिनाउ नदी किनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरी निकासी रोक्न नियमित अनुगमन गर्न टोली समेत खटाएको छ।