काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राज्यले निर्दिष्ट गरेको समाजवादको बाटो पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छिन्। ललितपुरको हात्तीवनस्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक सेयरसदस्य सम्मान समारोहमाउनले सहकारीलाई संविधानले प्रमुख आर्थिक अंगका रुपमा स्वीकार गरेको बताएकी हुन्।
सामाजिक न्यायका लागि आफू राजनीतिमा आएको बताउँदै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई फाइदा पुग्नेगरी २० युनिटसम्म खपत गर्ने जनतालाई निःशुल्क विद्युत उपलब्ध गराएको स्पष्ट पारेकी छिन्।
उहाँले भन्नुभयो २० युनिट बत्ति बाल्ने २६ लाख घरपरिवार अर्थात् एक करोड ३० लाख बढी नेपाली जनताले फाइदा पाउने गरी निर्णय लिइएको छ। जुन आधारभूत जनताका लागि राहत हुनेछ। विद्युत महशुलदर घटाउने र स्वदेशी खपत बढाउने नीति लिएको उल्लेख गर्दै हाम्रै पानीबाट उत्पादन भएको विद्युत् प्रयोग गरी, डलर तिरेर ल्याएको एलपी ग्यास प्रयोगमा कटौती गर्नुपर्ने कुरा मन्त्री भुसालले जनाएकी छिन्।
पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनभन्दा विद्युतीय सवारी साधन नै सस्तो हुने भएकाले आगामी दिनमा त्यतातर्फ लाग्न उनले आग्रह गर्दै जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट बच्न पनि विद्युतनै प्रयोग गर्न उपयुक्त हुने उनले जनाएकी छिन्।