काठमाडौं। भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ। गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो।
बिहीवार साँझ भारतको ६ः३० बजेदेखि ६ः४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी गराएका छन्। सबै विद्युत् २० भारूमा नै विक्री नभएर मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ। त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो रयसलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाई रहेको छ।
त्यस्तै भारत सरकारको अनुमति पाएसँगै प्राधिकरणले गत कात्तिक १७ गते यता निरन्तर त्यहाँको विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धीदरमा बिजुली विक्री गर्दै आएको छ। सामान्यतया प्राधिकरणले दैनिक औसतमा प्रतियुनिट भारू ३र४ मा बिजुली विक्री गर्दै आएको छ। भारतमा देखिएको ऊर्जा संकट र पिक आवरमा विद्युत्को मूल्य बढ्ने गरेको प्राधिकरणको भनाइ रहेको छ।
प्राधिकरणले कात्तिक १७ गतेयता आफ्नै स्वामित्वमा रहेको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गर्दै आएको हो। प्राधिकरणले दिनमा १५/१५ मिनेटको ९६ ओटा ब्लकमार्फत विजुली बिक्री गर्दछ। त्यसअनुसार विद्युत् एक्सचेन्ज मार्केटमा १५–१५ मिनेटमा नै बिजुलीको खरीदविक्री दर थपघट हुने गरेको छ। यसै क्रममा बिहीवार साँझ ६ः३० देखि ६ः४५ सम्मको ब्लकमा भारू २० मा नेपाली विद्युत् विक्री भएको हो।