काठमाडौं। संखुवासभामा निर्माण भइरहेको अर्ध–जलाशययुक्त इसुवा खोला जलविद्युत आयोजनाको पानी प्रयोग गरेर क्यासकेड आयोजना सञ्चालन हुने भएको छ। यसको अनुमतिका लागि विद्युत विकास विभागले प्रक्रिया अघि बढाएको छ।
इसुवाखोला केबीएनआर इसुवा पावर कम्पनीले प्रवर्द्धन गरेको ९७/२० मेगावाट क्षमताको आयोजना निर्माण हुँदै छ। यसबाट निस्कने पानीलाई प्रयोग गरेर इसुवा इनर्जी कम्पनीले ३७।७ मेगावाट क्षमताको अर्ध–जलाशययुक्त क्यासकेड आयोजना निर्माण गर्न विभागमा निवेदन दिएको थियो।
गत वैशाखमै निर्माण अनुमतिका लागि विभागमा निवेदन दिएको भएपनि विभागले भने ६ महिनापछि आयोजनालाई अनुमति दिने प्रक्रिया अघि बढाउँदै प्रतिकूल वातावरणीय प्रभाव पर्ने देखिएमा सरोकारवाला निकायबाट राय सुझाव दिन सूचना निकालेको छ। इसुवा खोलाको विद्युत गृहबाट निस्कने पानीलाई ७ मिटर गहिराइको २२ मिटर ठूलो पोखरी निर्माण गरी त्यसमा जम्मा गरिने भएको छ। पोखरीबाट ८७५ मिटर लामो पेनस्टक पाइपको सहायताले ३६५ मिटरको ग्रस हेडबाट विद्युत गृहमा खसालेर ३७/७ मेगावाट विद्युत उत्पादन गरिने योजना रहेको छ।
आयोजनाबाट वार्षिक २६१/९२ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने लक्ष्य रहेको छ। त्यस्तै सो आयोजनाबाट उत्पादित विद्युत १६ किलोमिटर लामो २२० केभी प्रसारणलाइन मार्फत संखुवासभाकै शितलपाटीमा रहेको विद्युत प्राधिकरणको सवस्टेशनमा जोडिने योजना रहेको छ। निजी क्षेत्रबाट निर्माण हुन लागेको अर्ध–जलाशययुक्त आयोजनामध्ये इसुवा खोला सबैभन्दा ठूलो र आकर्षक आयोजना हो। यसको प्रतिमेगावाट लागत पनि १० करोड रुपैयाँ हाराहारी मात्रै हुने अनुमान गरिएको छ।
वार्षिक ६४८ गिगावाट आवर ऊर्जा उत्पादन गर्न सक्ने इसुवा खोला दैनिक ६ घण्टा पिकिङ गर्न सक्ने आयोजना हो। क्यासकेड आयोजना निर्माण पछि दुवै आयोजना अर्ध–जलाशय र दैनिक ६ घण्टा पिकिङ गर्न सकिने छन्। दुवै आयोजनाबाट गरेर वार्षिक करिब ९१० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुने छ। त्यस्तै क्यासकेड आयोजनामा सुरुङमार्ग निर्माण गर्नु नपर्ने भएकाले यो आयोजनाको प्रतिमेगावाट लागत पनि सस्तो हुने देखिएको छ।