दोलखा। दोलखाको शैलुङ गाउँपालिका–७ मा चर्नावती वृद्धाश्रम निर्माण भएको छ। उक्त गाउँपालिकामा सुविधासम्पन्न बृद्धाश्रम निर्माण भएको हो।
भवनको भित्री व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको चर्नावती त्रिवेणी विकास सङ्घले जनाएको छ। चर्नावती वृद्धाश्रमको पहलकदमी २०६९ सालमा र भवन निर्माण २०७४ सालमा सुरु गरिएको हो। पाँच करोड रुपियाँमा भवन निर्माण हुने विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भए पनि दुई करोड ५६ लाख रुपियाँमा ठेक्का सम्झौता भएपछि संरचना अधुरो पारेर छोड्दा लामो समय लागेको गाउँपालिकाले बताएको छ।
सुरक्षाका लागि कम्पाउन्ड वाल लगाउनुपर्ने समस्या छ। बजेट अभावले समस्या भएको बताइएको छ। सञ्चालन गर्नका लागि ओढ्ने, ओछ्याउने खाटलगायतको तयारी भइरहेको छ।
करिब २५ रोपनी जग्गामा बनेको ७८ झ्याले भवनमा तीन तला र तलैपिच्छे तीनतीन वटा शौचालयसहितका २१ कोठा रहेका छन्। भवनभित्रै भान्साकोठा र प्रतीक्षालयसमेत छ।