काठमाडौं। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ र ७ भएर बग्ने तमोर नदीमा १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजना निर्माण हुने भएको छ। क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले उक्त आयोजना निर्माण गर्न लागेको हो।
आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार भइसकेको बताइएको छ। विद्युत विकास विभागले सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र आयोजना कार्यान्वयन र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए सरोकारवाला निकायहरुलाइ लिखित रायसुझाव पेस गर्न आग्रह गरिएको छ।
सो आयोजनाको डिजाइन बहाव २५.५ घनमिटर छ। कुल हेड ६७९ मिटर छ। आयोजनाबाट वार्षिक सरदर ९८४.१३ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुने जनाएको छ।
आयोजनालाई आवश्यक पर्ने पानी लिनको लागि तमोर नदीमा ५० मिटर लम्बाई र ११ मिटर उचाइको बाँध निर्माण गरिनेछ। आयोजना २०८५ बैशाख १३ गते विद्युत उत्पादन प्रस्ताव गरिएको छ।