बझाङ। साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा दुई सय १६ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको छ । समृद्धि इनर्जी लिमिटेडले उक्त जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको हो।
‘बझाङ माथिल्लो सेती जलविद्युत आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युत गृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ ।
अहिले सुरूवाती काम भइरहेको छ । “आयोजना अन्तर्गत वातावरण प्रभाव मूल्याङ्कनको मस्यौदामाथि सार्वजनिक सुनुवाइ, पानीको सुरूङमार्गका लागि माटो, ढुङ्गा परीक्षणका साथै अन्य प्रारम्भिक काम भइरहेको आयोजनाले जनाएको छ।
जलविद्युत आयोजना साइपाल–४ धुलीको सेती नदी र इङ्गल्दार खोलाको सङ्गमबाट करिब एक सय ५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३ दशमलव चार मिटर उचाइको बाँध बनाइ सुरूङमार्फत् विद्युत गृहमा पानी पठाउने र विद्युत् निकाल्ने कम्पनीले बताएको छ।
प्रारम्भिक अध्ययनका लागि आयोजनास्थल र साइपाल गाउँपालिका सडक सञ्जालमा नजोडिएको हुँदा परीक्षण गर्ने सामग्री तथा उपकरण पनि हेलिकप्टरमार्फत् ढुवानी गरेर काम गरिरहेको छ ।