काठमाडौं। दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ। लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर सञ्चालनमा आएको हो।
विसं.२०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका चार वटा टावरहरुको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्णरुपमा सञ्चालनमा ल्याइएको हो । सञ्चालनमा आएसँगै करिब तीन सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ ।
टावरको पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत आयोजनाहरुको विद्युत कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजनाले जनाएको छ।
प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिएका छन् । निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युतसहित त्यस करिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत यही लाइनमा जोडिने छ ।
करिब ८५ करोड रुपियाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ ।