मकवानपुर। जिल्लाको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुलको ठेक्का तोडिएको छ। सामरी खोला प्रि स्ट्रेसड ब्रिजको काम दुई पटक म्याद थप गर्दा पनि नसकिएपछि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको हो।
पुल निर्माणका लागि २०७४ सालमा निर्माण पूरा गर्ने गरी २०७२ सालमा पूर्वाधार विकास कार्यालय र नागार्जुन—शङ्करमाली जेभीबीच सम्झौता भएको थियो। तोकिएको म्याद सकिएर दुई पटक थप गर्दा समेत काम अघि नबढाएपछि मन्त्रालयले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी तीन वर्षका लागि कालोसूचीमा समेत राख्ने निर्णय गरेको छ।
कार्यप्रगति सन्तोषजनक नभएको र मन्त्रालयमा बैठक बोलाउदा समेत निर्माण कम्पनी अनुपस्थित हुनाका साथै आफूले जिम्मा लिएको काममा चासो नदेखाएको र राज्यको लगानीमा सर्वसाधरणले दुःख भोग्नपर्ने अवस्था आएकाले ठेक्का रद्द गरेर नयाँ ठेक्का आह्वान गरिने मन्त्रालयले जनाएको छ।
पुलको सम्झौताअनुसारको लागत रकम रु पाँच करोड ३७ लाख रहेको थियो।मन्त्रालयले कार्यसम्पादन जमानत बमोजिमको बैँक ग्यारेन्टी रकम रु २६ लाख ९० हजारसमेत जफत हुने जनाएको छ ।