तस्बिर: गाेरखापत्र
नवलपरासी। अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलिले पूर्वी नवलपरासीको मध्यविन्दु–१५ बाट १२ र मध्यविन्दु–१३ बाट एक ट्याक्टर नियन्त्रणमा लिएको हो।
मध्यविन्दु–१५ को अरुणखोलाबाट अवैध उत्खनन् कार्यमा संलग्न १२ वटा ट्याक्टर सशस्त्र प्रहरी वेश क्याम्प चोरमाराका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा गएको नगर प्रहरीसहितको टोलिले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका ट्याक्टरहरू आवश्यक कारबाहीका लागि मध्यविन्दु नगरपालिका पठाइएको छ ।
मध्यविन्दु १३ को गिरुवारी खोलामा नम्बर नखुलेको ट्याक्टर नियन्त्रणमा लिएको मध्यविन्दु नगर प्रहरीले जनाएको छ।
मध्यविन्दु १५ नदीजन्य पदार्थ उत्खनन् ठेक्का सम्झौता भएको उक्त क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी र नगर प्रहरीको टोली सो क्षेत्र पुगेको थियो ।