काठमाडौं। चीनको अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगतिको समीक्षा गर्दै समयमै सम्पन्न गर्न सहमति भएको छ।
शुक्रबार बेइजिङमा बसेको नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा आयोजनाको प्रगतिको समीक्षा गर्दै समयमै सम्पन्न गर्न ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको हो।
बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र चीनतर्फको नेतृत्व विदेश मामिलासम्बन्धी उपमन्त्री सुन वेइजोङले गरे । बैठकमा दुवै पक्षले विद्यमान नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगबारे समीक्षा गर्दै द्विपक्षीय उच्चस्तरीय भ्रमणको आदान–प्रदान गर्ने विषयमा थप छलफल भयो । साथै विभिन्न क्षेत्रमा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने उपाय तथा आर्थिक सहयोग व्यापार, लगानी र पर्यटन प्रवद्र्धन जडान निर्माण र कृषि, शिक्षा, संस्कृति र जनसम्बन्ध विस्तारलगायतका क्षेत्रमा सहयोग आदानप्रदान थप सुदृढ गर्ने विषयमा पनि दुई देशीय प्रतिनिधिमण्डलले धारणा साटासाट गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।