काठमाडौं। सरकारले पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थ मन्त्रालयमा गरेको छलफल कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने जानकारी दिएका हुन्।
उनले आगामी बजेट बनाउँदा सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने विषयलाई प्राथमिकता दिने बताए । उनले सरकारले साधारण खर्च घटाउने सम्भावना कम भए पनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गर्ने उल्लेख गरे ।
अर्थमन्त्री डा.महतले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए । उनले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै समयमै पुँजीगत खर्च गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको बताए ।