काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान नभएको स्वीकार गरेका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपाध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीको रकम भुक्तान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए। उपाध्यक्ष श्रेष्ठले निर्माण उद्योगमा धेरै समस्या रहेको बताउँदै सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।
जग्गा प्राप्ती, बजेट तथा निर्माण सामग्रीको अभाव, समुदायको अवरोध लगायतका समस्याहरूबाट निर्माण व्यवसायीहरू आक्रान्त रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
महासंघ अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे उपाध्यक्ष श्रेष्ठलाई अवगत गराउँदै सरकारी कार्यशैलीकै कारण निर्माण उद्योग व्यवसायीक हुन नसकेको बताए । बजेटको व्यवस्था नगरी टेण्डर आह्वान गर्ने परिपाटी गलत रहेको भन्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीले आफ्ने मु्लुकको स्रोत साधन उपभोग गर्न नपाउने परिपाटी अन्त्य हुनुपर्ने बताए ।
सार्वजनिक खरिद ऐन अनुसार व्यवसायीले २० प्रतिशत मोबिलाइजेशन पेश्की पाउनुपर्ने माग राख्दै उनले मूल्यवृद्धिको मारमा परेका व्यवसायीहरूले राहत नपाएको जानकारी दिए । राष्ट्रिय योजना आयोग जस्तो संस्थाले कसैको दबामा नपरी निर्भिक भएर काम गर्नुपर्ने अध्यक्ष सिंहले सुझाव दिए ।
निर्माण उद्योगको विकासका लागि आगामी बजेटमा समेटिनु पर्ने विषय बारे पनि महासंघले उपाध्यक्षको ध्यानाकर्षण गराएको छ ।