हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा बसपार्क निर्माण कार्यको शिलान्यास गरिएको छ। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सिमकोट गाउँपालिका–५ को मैनागाडा क्षेत्रको सार्वजनिक जग्गामा बसपार्क निर्माणका लागि शिलान्यास गरेका हुन्।
राष्ट्रिय सडक सञ्जालसँग हालसम्म जोडिन नसकेको हुम्लाको सदरमुकाम सिमकोटमा राष्ट्रिय सडक सञ्जाल चाँडै जोडिन लागेको र हेलिकोप्टरबाट ल्याइएका र चिनियाँ सीमा नाका हिल्साबाट सदरमुकाम भित्रिएका यातायातका साधनहरू अव्यवस्थित रूपमा पार्किङ हुन थालेपछि नयाँ बसपार्क निर्माण गर्न लागिएको छ।
शिलान्यास कार्यक्रममा अध्यक्ष भण्डारीले सदरमुकामका लागि एउटा बसपार्क अति आवश्यक रहेका कारण नयाँ बसपार्क निर्माण कार्यको थालनी गरिएको बताए। गाउँपालिकाका आफ्नै स्रोत नभएको भए पनि त्यसका लागि प्रदेश र सङ्घ सरकारसँग समन्वय गरेर बसपार्क चाँडै सम्पन्न गरेर सञ्चालनमा ल्याउने उनले बताए। बसपार्क स्थानीय निर्माण उपभोक्ता समितिद्वारा गरिनेछ । यसका लागि कर्णाली प्रदेश सरकारको पहलमा चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजित गरिएको छ ।