काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय पुनर्निर्माण भएको छ। उक्त विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुनर्निर्माण भएको हो।
२०७२ सालको भूकम्प र पुरानो भौतिक संरचना कारण जीर्ण बनेको विद्यालय भवनको पुनर्निर्माण गरिएको हो। सो भवनको उद्घाटन प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजा, प्रदेशसभा सदस्यद्वय हरिबहादुर भण्डारी र बिमला गौचनले गरेका छन्।
विद्यालय भवन निर्माणको लागि एक अभियान सुरु गरिएको थियो। सो अभियानका क्रममा एक करोड ५० लाख सहयोग संकलन गरेर विद्यालयको ७ वटा कोठाको भवन पुनर्निर्माण गरिएको विद्यालयले जनाएको छ।
विद्यालयमा बेगखोलाबासीले चन्दा संकलन गरेर निर्माण गरेको सात कोठे कक्षा कोठा भवनबाहेक पुनर्निर्माण प्राधिकरणको शिक्षा इकाईमार्फत् ३४ लाख लगानीमा तीन कोठे र ६० लाख लगानीमा चार कोठे थप भवन निर्माण भएको विद्यालयले बताएको छ।