बागलुङ। धौलागिरि अस्पताललाई २ सय शय्याको बनाउने भएको छ। अस्पताललाई २ सय शय्याको बनाउने उद्धेश्यका साथ काम सुरु भएको हो।
अस्पताल प्रशासनले राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाको सहकार्यमा काम अगाडि बढाएको छ। अस्पताललाई आवश्यक पर्ने पूर्वाधार थपेर २ सय बेड स्थापना गर्ने र मेडिकल कलेजको रूपमा विकास गर्ने योजनाअनुसार काम थालिएको अस्पतालले जनाएको छ। त्यसका लागि हाल सञ्चालनमा आएका तीनवटा भवनमा २ वटा थप गर्ने अस्पतालको लक्ष्य छ ।
अस्पतालले हाल १ सय २६ बेड सञ्चालनमा ल्याइसकेको छ । चार वर्षअघि खरिद गरिएका थप १ सय बेड स्टोरमा छन् । अस्पतालमा ४ बेड आईसीयू, ४ बेड बाल उपचार केन्द्र, २९ बेड आइसोलेसन र १५ वटा बेड इमर्जेन्सीमा छन् । तीबाहेक ७५ बेड थपिएपछि अस्पताल प्रादेशिकस्तरको बन्ने अस्पतालले जनाएको छ।
अस्पतालले दुई वर्षअघि ३ करोड लागतमा अक्सिजन प्लान्ट स्थापना गरेको छ । उक्त प्लान्टले दैनिक उपभोगबाहेक ग्रामीण स्वास्थ्यचौकीमा पठाउने सिलिन्डर पनि भर्न पुग्छ ।