काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटी निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री बस्नेत समक्ष निर्माण उद्योगको समस्या समाधान गरिदिन आग्रह गरेको हो।
महासंघले निर्माण व्यवसायीका समस्यालाई सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमार्फत समाधान गर्न आग्रह गरेको छ। महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूले राज्यबाट पाउनु पर्ने अरबौं रुपैयाँ भुक्तान भएमा अर्थतन्त्र चलायमान भई राज्यलाई नै फाइदा पुग्ने बताए।
भुक्तानी अभाव, नदी तथा खानीजन्य सामग्रीको उत्खननमा भएको अवरोध, निर्वाचन लगायतका कारणले समयमै निर्माण कार्य हुन नसकेको भन्दै अध्यक्ष सिंहले सबै आयोजनाहरूको म्याद २०८१ असार मसान्तसम्म थप गरिनु पर्ने समेत बताए। उनले मूल्य समायोजन सहित सार्वजनिक खरिद ऐन अनुसार २० प्रतिशत मोबिलाइजेशन पेश्की पाउनु पर्ने माग मन्त्री बस्नेत समक्ष राखे।
महासंघका मुख्य मागहरूलाई सार्वजनिक खरिद नियमावलीको तेह«ौं संशोधन मार्फत् सम्बोधन गरिदिन अध्यक्ष सिंहले आग्रह गरे । जवाफमा मन्त्री बस्नेतले महासंघले उठान गरेका विषयहरू समय सान्दर्भिक रहेको बताए । उनले निर्माण व्यवसायीहरूका समस्या क्रमशः समाधान हुँदै जाने प्रतिबद्धता पनि जनाए। महासंघ प्रतिनिधिमण्डलमा महासंघका महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए।