काठमाडौं। थ्री स्टार हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर निष्कासन तथा बिक्री गर्ने भएको छ। आउँदो सोमबारदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर जारी गर्ने भएको हो।
जारी पुँजी ४९ करोड २५ लाख रहेको कम्पनीले २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर जारी गर्ने तयारी छ।
उक्त सेयरमध्य कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभवित क्षेत्र खोटाङ जिल्लाका बासिन्दाका लागि बिक्री गर्ने छ।
यस्तै साधारण सेयरको १० प्रतिशतले हुने ७३ हजार ८७५ कित्ता सेयर श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरिने छ।
उक्त सेयर खरिदका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुले वैशाख ११ बाट २५ गतेसम्म आवेदन दिन सकिने छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले भने ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र र कर्मचारीका लागि बिक्री गरेको सेयर साधारण सेयर बाँटफाँट भएको मितिले ३ वर्षसम्म बिक्री गर्न पाइदैन।