काठमाडौं। कैलालीको बर्दगोरिया गाउँपालिकामा अस्पताल निर्माण सम्पन्न भएको छ। सो गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको हो।
उक्त अस्पताल सम्झौता भएको समय अगावै निर्माण सम्पन्न भएको हो। अस्पताल समय भन्दा अगाडी निर्माण सम्पन्न भएपछि स्थानीय खुशी भएका छन्।
सङ्घीय सरकारको सहयोगमा १३ करोड ८३ लाख १८ हजार २८६ रुपियाँ लागतमा अस्पताल भवन निर्माण पूरा भएको हो। २०८० असार २० गते पूरा गर्ने गरी १५ शय्याको अस्पताल निर्माणको जिम्मा लुम्बिनी/थोदुङ/शिव खिम्ती जेभी निर्माण कम्पनीले पाएको थियो। निर्माण कम्पनीले २०७८ असार २० गते सम्झौता गरेर निर्माण सुरु गरेको जनाउँदै सम्झौता मितिभन्दा चार महिनाअगावै अस्पताल भवन निर्माण सम्पन्न भएको जनाएको छ।
निर्माण सामग्री र जनशक्ति अभाव नभएका कारण निर्माण कार्यले तीव्रता पाएको निर्माण कम्पनीले बताएको छ। निर्धारित समयमा काम विभिन्न स्थानमा काम नसकिएको समाचार आइरहेको अवस्थामा समय भन्दा चार महिना अगाडी निर्माण सम्पन्न गर्नु गौरवको विषय पनि हो।
तत्कालीन दोदोधारा स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरेर १५ शय्याको दोदोधारा आधारभूत अस्पताल बनाइएको हो। निर्माण पूरा भएसँगै निर्माण कम्पनीले सोमबार गाउँपालिकालाई अस्पताल हस्तान्तरण गरेको छ।
तोकिएको समयअगावै काम पूरा गर्ने र गराउने निर्माण कम्पनी, गाउँपालिकाका प्राविधिक कर्मचारीलाई सम्मान गरिएको छ। अस्पताल हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उनीहरूलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन्।