काठमाडौं। चालू आर्थिक वर्षको ९ महिनामा नेपालले ४२ करोड भन्दा बढीको सिमेन्ट निर्यात गरेको छ। नेपालले चालू आर्थिक वर्षको ९ महिनामा ४२ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो।
भन्सार विभागले सार्वजनिक गरेको चालू आवको चैतसम्मको तथ्यांक अनुसार समीक्षा अवधिमा २३ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको क्लिंकर र १८ करोड ५९ लाख १६ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ। यो अवधिमा २ लाख ७२ हजार ३ सय २८ टन क्लिङ्कर र १ लाख ९२ हजार १ टन सिमेन्ट निर्यात भएको छ।
सरकारले चालू आवको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै २ सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गर्दै आएका छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको तानसेन र असोज ३१ गतेदेखि अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु भएको हो ।