चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको भूमिगत विद्युतिकरणको निरीक्षण गरेकी छन्। भरतपुरको मुख्य सडकमा विद्युत, ईन्टरनेट, टेलिफोन लगायतको तारलाई भूमिगत गर्ने काम भईरहेको छ । प्रमुख दाहालले भूमिगत आयोजनाका कर्मचारीसँग अहिले भईरहेको कार्य प्रगति र काम भईरहेको स्थानबारे जिज्ञासा राखेकी थिइन्।
अहिले ६ लेन सडक र बाईपास सडकमा धमाधम काम भईरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । यो वर्षभित्र काम सक्ने गरी काम भईरहेको आयोजनाले जनाएको छ । भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई भूमिगत विद्युतिकरणसँगै सौन्दर्यकरण गर्ने कार्यलाई प्रथामिकतामा राखिएको बताएकी हुन्।
दाहालले विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने बताइन् । भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम सुरु गरिएको छ। आयोजनाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ ।
भूमिगतका लागि विदेशबाट ल्याउनुपर्ने ८० प्रतिशत काम भएकाले र पाईप बिछ्याउने काम लगभग सकिएको बताइएको छ।