काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनताले अनुभूत गर्नेगरी विकास गर्न आफू लाग्ने बताएकी छन्। मन्त्रालयमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले मन्त्रालय वा कर्मचारीले मात्रै नभएर आम जनताले अनुभूति गर्ने गरी विकास कार्य गरिने बताएकी हुन् ।
मन्त्री यादवले विकासको आकाङ्क्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वभाविक भएको बताइन्। उनले सबै कर्मचारीलाई काठमाडौं केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन भनिएको बताइन्।
काठमाडौं उपत्यकामा १५/१५ दिन र उपत्यका बाहिरका आयोजनामा कम्तीमा एक महिनामा प्रगति विवरण पठाउन भनिएको समेत जानकारी गराइन् ।
कुनै पनि योजनामा ठेक्का सम्झौता गर्नै प्रक्रियामा नै त्रुटि भएकाले समस्या आउने गरेको मन्त्री यादवले बताइन्। सबैभन्दा कम रकममा काम गर्न तयार हुनेलाई जिम्मेवारी दिँदा गुणस्तरीय कामको अपेक्षा गर्न नसकिने भन्दै उनले न्यूनतम ठेक्का रकम पनि तोकेर यो भन्दा कम रकम कबोल गर्न नपाउने भन्ने व्यवस्था गरिनुपर्ने धारणा राखिन् ।